बिर्तामोड । बिर्तामोडको साम्रे भेञ्चर्सले झापामा विद्युतीय तीनपाङ्ग्रे यात्रुवाहक सवारी ‘सुपर अटो’ बिक्री गर्न सुरु गरेको छ । भेञ्चर्सले आज मोन्ट्रा ब्राण्डको सो अटोको रोड सो समेत गरेको छ ।
भारतमा उत्पादित सो अटोको नेपाल पहिलो अन्तर्राष्ट्रिय बजार बनेको कम्पनीले जनाएको छ ।नेपालमा मोन्ट्रा सुपर अटोको आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिङ हो । कम्पनीले नेपाली बजारको आवश्यकता र यहाँको भौगोलिक अवस्थालाई ध्यानमा राखेर सुपर अटो विकास गरिएको जनाएको छ ।
सुपर अटोमा ९ किलोवाट आवरको ब्याट्री तथा पीएमएसएम मोटर जडान गरिएको छ । यसले ६० एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । पूर्ण चार्जमा करिब १६० किलोमिटरसम्म चल्न सक्ने यो अटोको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको साम्रे भेञ्चर्सका सेल्स हेड सुजन नेपालले जानकारी दिए । ब्याट्री पूर्ण चार्ज हुन करिब ४ घण्टा ३० मिनेट लाग्ने जनाइएको छ ।
नेपाली सडकको उकालो–ओरालोलाई लक्षित गरी अटोमा ३२ प्रतिशतसम्मको ग्रेडेबिलिटी र हिल होल्ड असिस्ट प्रविधि राखिएको छ । चालकले सडक तथा आवश्यकताअनुसार विभिन्न ड्राइभिङ मोडसमेत प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपालमा मोन्ट्रा सुपर अटोको मूल्य ८ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले विद्युतीय सवारीको प्रयोगबाट इन्धन तथा नियमित मर्मतसम्भार खर्च घटाउन सकिने र यसले अटो चालकको सञ्चालन लागत कम गर्न सहयोग पुग्ने जनाएको छ ।
नेपालमा बिक्री तथा बिक्रीपछिको सेवा प्रभावकारी बनाउन डिलर, स्पेयर पार्ट्स र सर्भिस नेटवर्क विस्तार गरिएको सोरुम सञ्चालक रोनल मित्तलले जानकारी दिए । मित्तल र अनुस्थान थापाको साझेदारीमा बिर्तामोडको सो रुम सञ्चालनमा आएको छ । सार्वजनिक यातायात तथा छोटो दूरीको यात्रामा विद्युतीय अटोको प्रयोग बढिरहेको अवस्थामा नयाँ ब्राण्डको प्रवेशले नेपाली तीनपाङ्ग्रे बजारमा थप विकल्प थपिएको छ ।




















