बिर्तामोड । जिल्ला स्वास्थ्य कार्यालय झापाले फागुन ११ गतेदेखी हात्तीपाइले रोग बिरुद्वको औषधी खुवाउने भएको छ । 

स्वास्थ्य कार्यालयले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर औषधी खुवाउने तयारी अन्तिम अवस्थामा पुर्याएको बताएको छ ।

झापासहित नेपालमा १५ जिल्लामा यो रोग बिरुद्वको आम औषधी सेवन कार्यक्रम सञ्चालन हुने जनस्वास्थ्य निरिक्षक बिश्वनाथ श्रेष्ठले जानकारी दिए । उनले ६ बर्षमा सम्पन्न हुनुपर्ने आम औषधी सेवन कार्यक्रम १२ बर्षसम्म सञ्चालन हुनु दुखद भएको बताए । 

हात्तीपाइले रोगको लक्षण ५ देखि ७ बर्षमा मात्र देखिने भएकाले आम मान्छेले यो औषधी सेवन गर्न चासो नराख्ने गरेको पाइएको उनले बताए । यश औषधी सेवनका बारेमा समाजमा भ्रम रहेको समेत श्रेष्ठको भनाई छ ।

स्वास्थ्य कार्यालयले यो पटक औषधीको मात्रा पनि बढाएको जनाएको छ । अब सेवनकर्ताको उचाइ अनुसार औषधी सेवन गर्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बारकोटीले जानकारी दिए ।