बिर्तामाेड । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गरिने भएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको छ ।

watabaran

विश्व वातावरण दिवसका अवसरमा बिर्ताबजारमा आज आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई हरित नगर बनाउने अभियानमा लागेको बताइन । वातावरण स्वच्छ र हराबरा बनाउनका लागि विरुवा रोप्न आवश्यक रहेको भन्दै उनले नगरवासी सबैले जतिसक्दो धेरै विरुवा रोप्न आग्रह गरिन्।

सडकको दायाँ बायाँ, घर, विद्यालय वरीपरी रुख रोपेर स्वच्छ वातावरणमैत्री हरितनगर निर्माणको लागिसबै एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड  दिइन्। वातावरण दिवसको अवसरमा आज सुरुवातमात्रै गरेको बताउँदै उनले पानी परेर वातावरण सहज भएपछि वृक्षरोपण कार्यलाई अघि बढाउने नगर प्रमुख प्रसाईले जानकारी दिइन्।

दिवसको अवसरमा बिर्तामोड नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा प्रथम बहुउदेश्यीय सहकारी संस्थाले बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो। नगर प्रमुख प्रसाईले विरुवा रोपेर कार्यक्रमको उद्घाटन भएको थियो ।

वृक्षरोपण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, नेकपा एमाले बिर्तामोड नगर कमिटि इञ्चार्ज देवराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराई, वडा नम्बर ३का वडाअध्यक्ष मदन बुढाथोकी, वडानम्बर ४का वडाअध्यक्ष राहुल शर्मा लगायत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, सहकारी अभियन्ता, नेपाल प्रहरी, नगर प्रहरी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।