फिदिम । पाँचथर र ताप्लेजुङ जोड्ने हेवाखोलामा ओहोरदोहोरका लागि फड्के पुलको निर्माण गरिएको छ । बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको मोटरेबल पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि आवतजावतका लागि फड्के पुल निर्माण गरिएको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली, सुरक्षा निकायको सक्रियतामा बाँसको फड्के बनाइएको हो । यसअघि तुइनको माध्यमबाट खोला पार गर्दै आएका यहाँका नागरिकले हिजोदेखि भने बाँसको फड्केबाट खोला तरिरहेका छन् । 

असार २ गते शनिबार राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक र तमोर करिडोरको बेलीब्रिज बगाएको हो । बाढीका कारण ताप्लेजुङ जिल्ला, पाँचथरकै फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने सडक सम्पर्क एक हप्तादेखि टुटेको छ । तर, हप्तादिन बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माणको काम भने हुन सकेको छैन ।