बिर्तामोड । कोशी प्रदेशको पुनः नामाङकन हुनुपर्ने माग सहित आन्दोलित पहिचानवादीहरुको एक समुहले आइतबार झापाको चन्द्रगढीस्थित जिल्ला आयुर्वेद कार्यालयमा राखिएको बोर्ड र नागरिक बडापत्रमा प्रदेशको नाम संसोधन गरेका छन् । 

आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष तथा प्रदेश नम्बर १ पुन नामाङकन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरीको नेतृत्वमा गएको टोलीले कोशी प्रदेश लेखिएको बोर्डमा ‘किराँत–लिम्बुवान’ प्रदेश लेखेको थियो । 

यसैगरी कार्यालयमा रहेको नागरिक बडापत्रमा समेत कोशीको स्थानमा प्रदेश न १ लेखिएको छ । कार्यालयको भित्तामा टासिएको कोशी प्रदेश लेखिएको जनचेतनामुलक पोष्टरसमेत सो समुहले च्यातेर फालेको छ । 

प्रदशेसभाको बहुमतले कोशी प्रदेश नामाकरण गरेपछि पहिचानवादीहरु निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत उनीहरुले स्वरुप फेर्दै सरकारी कार्यालयको बोर्ड संसोधन अभियान शुरु गरेको बताएका छन् । कोशी नामाकरणको चर्काे बिरोध गर्दै आएका उनीहरुले कार्यालयका भित्ताभरी ‘नो कोशी’ लेखेका छन् ।