भद्रपुर । नेपाल परिवार नियोजन संघ झापाको अध्यक्षमा पत्रकार गणेश पोखरेलले दावी गरेका छन् ।

असार २५ गते जिल्ला समन्वय समितिकाे भवनमा संघको अधिवेसन सुरु हुँदैछ भने असार ३० गते कार्यसमितिको निर्वाचन हुने कार्यतालिका छ । 

‘परिवर्तित सन्दर्भमा संघलाई नयाँ शैली र योजनाका साथ सञ्चालन गर्नुपर्ने खाँचो देखियो,’ पत्रकार पोखरेलले भने -‘आम सदस्यहरुको चाहना र भावना अनुसार मैले यसपटक अध्यक्षको उम्मेद्वार बन्ने निर्णय गरेको हुँ ।’

विर्तामोड निवासी पोखरेल अहिलेको कार्यसमितिमा सचिव पदमा छन् । बर्तमान अध्यक्ष लोकनाथ भट्टराई बुइँपालीले दोहोर्याउने इच्छा देखाएकाे हुँदा पोखरेल र भट्टराईबीच अध्यक्ष पदमा प्रतिष्पर्धा हुने देखिएको छ ।

संघको झापा शाखामा ७७५ जना आजीवन र साधारण सदस्य रहेका छन् । उनीहरुले नै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नेछन् ।

संघको विधान अनुसार शाखा कार्य समितिमा एक अध्यक्ष, एक कोषाध्यक्ष र नौ जना सदस्य रहने व्यवस्था छ । जसमध्ये ५१ प्रतिशत महिला हुनैपर्छ ।

कार्य समितिमा कोषाध्यक्ष पदमा पार्वती ओझाको नाम चर्चामा रहेको छ । 

संघमा पछिल्लो समय दाताको सहयोग घट्दै गएको छ । संघले यौन तथा प्रजनन् क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सकेको देखिदैन । मुलुक संघीयता गएपछि संघले तीनै वटा सरकारको सहयोग लिनु पर्नेमा त्यसो हुन नसकेकाे अध्यक्षका दावेदार पोखरेल बताउछन्।

कार्यालय भवन जीर्ण अवस्थामा पुगेको जनाउँदै पोखरेलले आफुले नेतृत्व गर्ने अवसर पाएपछि नयाँ र आधुनिक भवन निर्माण गर्ने याेजना रहे‍काे उनले बताए ।  चारआलीको क्लिनिकल भवन पुननिर्माण र सेवा चुस्त बनाउने प्रतिवद्धता उनकाे छ । उनले पृथ्वीनगर, चन्द्रगढी र दमकमा रहेको क्लिनिकल सेवालाई अझ प्रभावकारी र जनशक्तियुक्त बनाउने बताएका छन् ।