झापा । विद्यालयको शौचालयको सेफ्टी ट्यांकीमा खसेर गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका बालककाे निधन भएकाे छ । धुलाबारीको सानो साथी किन्डर गार्टेन पढ्ने ८ वर्षीय लिम्बू हिजो शाैचालयकाे सेफ्टी ट्यांकीमा खसेर गम्भिर घाइते भएका थिए । 

उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेफ्टी ट्यांकीभित्र खसेका थिए । सेफ्टी ट्यांकीको प्वाल छोप्न प्लाईकाे प्रयाेग गरिएकाे थियाे । साे प्लाई मक्किएकाे कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।

विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेफ्टी ट्यांकीमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकीभित्र पसेर निकालेका थिए । त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए । उनलाई बेहोश अवस्थामा उद्दार गरी हिजो दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो ।

उनको चिन्ताजनक अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भिर समस्या भएकाे थियाे । पानीमा डुब्दा पानी धेरै खाएकाले बालकको ठुलो आन्द्रामा समेत समस्या आएको तथा निमोनिया समेत भएको चिकित्सकले बताएका थिए ।

यसैबीच, पक्राउ परेका विद्यालय सञ्चालक गुरुङमाथि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार जाहेरी के शीर्षकमा पर्छ, त्यहीअनुसार गुरुङमाथि कारबाही अघि बढाइनेछ ।

बालकको निधनपछि अप्रिय घटना हुन नदिन विद्यालय परिसरमा अहिले ठुलाे स‌ख्यामा प्रहरी परिचालन गरिएको छ ।