विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई वृक्षरोपणका नाममा व्यक्तिको निजी जमिनमा जवरजस्ती नगर्न आदेश दिएको छ ।

धरान उपमहानगरपालिका ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

धरान १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जवरजस्ती वृक्षरोपण गरेको भन्दै अदालतमा रिट हालेकी थिइन् । रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिएको हो ।

‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृत प्रवेश र वृक्षरोपण नगर्नु, नगराउनु’ अदालतको आदेश छ । निवेदक अधिकारीको नाममा धरान बाँझगरा गाविस ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनीपूर्जा प्रतिलिपीबाट देखिएकोले कानुन बमोजिम अन्यथा नभएसम्म उनको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारका रुपमा रहने अदालतले भनेको छ ।

मेयर साम्पाङले यसअघि दुई पटकसम्म सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षरोपण गरेका थिए । त्यही क्रममा पूर्ववडाअध्यक्ष अधिकारीकी श्रीमती रोजिनाको नाममा भएको जग्गामा पनि वृक्षरोपण गरिएपछि दुई पक्षबीच झडपको अवस्था भएको थियो ।

पूर्ववडाअध्यक्ष अधिकारीले छोटी मोरङमा होटल चलाएका छन् । त्यहीँ उनले प्याराग्लाइडिङ कम्पनी पनि खोलेका छन् । प्याराग्लाइडिङको टेकअपस्थल त्यहीँ छ । मेयर साम्पाङको नेतृत्वमा टेकअपस्थलमा पनि विरुवा रोपिएको थियो ।

छोटी मोरङ डाँडा सट्टाभर्ना दिइसकेको सर्दु जलाधार क्षेत्रमा परेपनि लगतकट्टा नगरिँदा बेचबिखन भएको थियो । त्यस प्रकरणमा सर्वोच्च अदालतमा सट्टाभर्ना दिएको प्रमाण पेश नहुँदा जग्गाधनीकै हकभोग कायम हुने फैसला भएको थियो ।

सट्टाभर्ना दिएको प्रमाण आएपछि पुरानो फैसला उल्टाउँदै सर्वोच्चले जग्गा रोक्का राखेको छ । तर, सर्वोच्चको पूर्ण इजलासबाट अन्तिम फैसला नहुँदै मेयर साम्पाङले बलपूर्वक वृक्षरोपण गरेको भन्दै उच्चमा रिट परेको थियो ।