झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ उपसचिव र ८ जना अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले तीन वर्ष बढी अवधि सेवा भएका १४ उपसचिव र ८ शाखा अधिकृतको सरुवा गरेको हो । मन्त्रालयले झापाको अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय गीताकुमारी राईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । अर्जुनधारा नगरपालिकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल आएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहुँच र शक्तिको आडमा सिंहदरबार वरीपरीका कार्यालयमा मात्रै कार्यरत कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउन थाल्ने क्रममा उनीहरुको सरुवा भएको छ ।

विद्यमान सरुवा प्रणालीको विकृति हटाउन लागिरहेका मन्त्री मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्षभन्दा बढी समय बसेका कर्मचारीको सरुवा गर्दै दुर्गम क्षेत्रमा खटाउन थालेका हुन् । उनले पदभार सम्हालेदेखि नै प्रशासनिक र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा अग्रसर भएको दाबी गरेका छन् ।