बिर्तामाेड । झापाको जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘ट्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको छ ।

ट्याङ्ग्री झार अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेपछि सामुदायिक वनमा बेसार, अदुवा अम्रिसो लगाउन थालिएको हो । ट्याङ्ग्री लहरा नियन्त्रण क्रमिक रुपमा बढ्दै गएको फरेष्ट एक्सन नेपालका संयोजक डा लीलानाथ शर्माले बताए । 

फरेष्ट एक्सन नेपालले रोयल बोटानिकल गार्डेन इडनवर्गसँगको सहकार्यमा प्राकृतिक वनको पुनःस्थापना र मिचाह प्रजाति ट्याङ्ग्रीको नियन्त्रणको विगत पाँच वर्षदेखि सो क्षेत्रमा काम गर्दै आएको छ । उनले सुरुमा वन उपभोक्ता समितिलाई मिचाह प्रजातिको झार फाड्नका लागि आर्थिक सहयोग समेत गरेको जानकारी दिए 

'ट्याङ्ग्री लहरा र वनमारालाई वनक्षेत्रमा नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी रणनीति भनेको रुखको घनत्व बढाउनु हो”, संयोजक शर्माले भने “वन क्षेत्रमा बेसार, अम्रिसो लगाउँदा राम्रो गोडमेल हुन्छ, त्यसले प्याङ्ग्री पनि नष्ट हुने र नयाँ बिरुवा पनि उम्रने देखिएको छ ।”

उनले हाल सो क्षेत्रमा एक लाख बढी मसला, रुद्राक्ष, कदमलगायत विभिन्न प्रजातिका बिरुवाको पुनरुत्थान भएको जानकारी दिए । सामुदायिक वन आफैँले ट्याङ्ग्री लहराबाट कम्पोष्ट मल बनाइरहेको उनको भनाइ छ ।

ट्याङ्ग्री लहराबाट वार्षिक एक सय टनभन्दा बढी कम्पोष्ट मल बनिरहेको उनले बताए । जुन मल स्थानीय उपभोक्ता आफैँ र चिया बगानले खरिद गरेर प्रयोगका लागि लैजाने उनको भनाइ छ । जलथलका २२ वटा सामुदायिक वनमध्ये ६ वटा वनले उपभोक्तालाई जागरुक बनाएर बेसारखेती लगाएका छन् ।

जसबाट उपभोक्ताले राम्रो आम्दानी गरेका छन् भने ट्याङ्ग्री लहरा नियन्त्रणसमेत भइरहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले बताए । उनका अनुसार हाल २२ वटा सामुदायिक वनमध्ये ६ वटाले करिब २० बिघाभन्दा बढीमा बेसार र १५ बिघा बढीमा अम्रिसो खेती गरिरहेको छ ।

वनमा ट्याङ्ग्री लहरा, उल्टा काँडालगायत विभिन्न प्रजातिका मिचाह झारले धानको बिस्कुन सुकाए झै भूइँमा लहरिने हुँदा अन्य बोटबिरुवालाई उम्रन नदिएको अवस्थामा यसलाई हटाएर कृषि वन कार्यक्रम सञ्चालन गर्ने कार्य एक्सनको उत्कृष्ट रहेको उन काे भनाइ छ । अध्यक्ष पोर्तेलले उपभोक्ता र वन समूह आफैंले करिब चार बिघा बढी जमिनमा बेसार र पाँच बिघा बढीमा अम्रिसो खेती गरिरहेको बताए ।

 जलथल जङ्गल नेपालकै एक मात्र यस्तो वन क्षेत्र हो, जहाँ पहाडमा मात्र पाइने बोटबिरुवा र जीवजन्तुसमेत पाइन्छन् । स्थानीय वयोवृद्ध वीरबहादुर गिरीका अनुसार जलथल जङ्गलमा पहाडमा मात्र पाइने पात्ले कटुस र चिलाउनेको रुख पाइएको छ भने पहाडमा हुने दुम्सीसमेत यहाँ पाइन्छ ।

Screenshot_20230921-050358_Photos~2