काठमाण्डाै । इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गरेका छन् । बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थी इजरायल पुगेका थिए ।

उनीहरू ११ महिनाका लागि इन्टर्न गर्न त्यहाँ पुगेका हुन् । त्यही क्रममा उनीहरु ‘पम्मी तसाज’ भन्ने स्थानमा एक फार्म हाउसमा इन्टर्न गर्दै आएका थिए । इजरायल र प्यालेस्टाइन हमासबीचको आक्रमणका कारण उनीहरू त्यही कृषि फार्म हाउसको बंकरभित्र लुकेर बसेका छन् । 

हिजोदेखि बंकरभित्रै लुकेर बसेका उनीहरू निकै त्रसित अवस्थामा छन् । सम्पर्कमा आएका एक विद्यार्थीले भने, ‘युद्ध जारी रहेको स्थानबाट हामी काम गर्ने फार्म २५ किलोमिटरको दूरीमा छ । तर, आवासीय क्षेत्रबाट टाढा एकान्तमा छ । सबै आत्तिएका छौँ । हिजो बिहानदेखि बंकरमा लुकेर बसेका छौँ ।’ 

हमास बिद्राेही सहर प्रवेश गरेको हल्लाले आफूहरू बाहिर निस्किन सक्ने अवस्था नरहेको उनको भनाई छ । ‘यो फार्ममा हामी ११ जना मात्र छौँ । हिजोको साथीहरू परेको घटनाले बाहिर निस्कने आँट कसैमा छैन । यताबाट अहिल्यै कतै सुरक्षित ठाउँमा सारिदिन र सारिदिनका लागि पहल गरिदिनपर्यो’ उनले भन् ।  

यसअघि इजरायल र गाजाको सीमा क्षेत्र नजिकै हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका थिए । १७ जनाको समूहमा रहेका ती विद्यार्थीहरू बंकरभित्रै बन्धक बनाइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार घाइते ९ जनामध्ये २ जनाको अवस्था गम्भीर छ । 

त्यही समूहमा रहेका विद्यार्थीहरूमध्ये एकजनाले निकै पीडादायी भिडियो सार्वजनिक गरेका थिए । जसमा उनले– ‘म मरेको खण्डमा घरमा आमालाई औषधि गरिदिनु है’ भनेका थिए ।   

सुदूरपश्चिम विश्वविद्यालयले भदौ अन्तिम साता कृषि संकायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई इजरायल पठाएको थियो । सेडट नेगेभ कलेजसँगको सम्झौतामा उनीहरू इजरायल पुगेका थिए । हा आक्रमणमा परेका सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी हुन् । 

ती विद्यार्थीहरूको नेतृत्व गरेर दाङका विपिन सुवेदी इजरायल पुगेका थिए । उनले विद्यार्थीहरू निकै डर र त्रासको अवस्थामा रहेको बताए । उनले हिजोदेखि सामाजिक सञ्जालमार्फत सुरक्षित स्थानमा उद्धारको लागि अपिल गर्दै आएका थिए । 

उनले के भएको हो भनेर सोध्दा जतिबेला पनि घाइतेहरूको अवस्था मात्रै बताउन विवश रहेको बताए ।  तर, आफूहरू निकै त्रासमा लुकेर बसेको र त्यही त्रासले मर्ने स्थितिमा पुगेको उनको भनाई छ । ‘जो हामी छौँ, त्रासमा लुकेर बसेका, उनीहरू यही त्रासले नै मर्ने स्थिति पुगिसक्यो । बचाउने काम सबैलाई गरिदिनुस् । सकेको जति सुरक्षित ठाउँमा पुर्‍याइदिनुहोस् ।’ उनले भने ।  

आफूहरूको मन आत्तिएर भक्कानिन थालेको र आँखा सुक्न लागेको भन्दै उद्धारको लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।  हमास र इजरायली सेनाबीच गोली हानाहानको अवस्था रहेकोले घाइते नेपालीको उद्धार गर्न नसकिएको सरकारले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासले उद्धारमा कठिनाइ भइरहेको जनाएको हो । 

अहिले त्यो क्षेत्रमा जान सकिने अवस्था नरहेको इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले बताए ।  इजरायली सेनाले उक्त स्थानलाई नियन्त्रणमा लिएपछि मात्रै उद्धारसम्बन्धी कार्य अघि बढ्ने उनको भनाइ छ ।  ‘सेनाले उक्त क्षेत्र नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सेनाको नियन्त्रणमा आएपछि उद्धारसम्बन्धीको कार्य अघि बढ्छ । हामी त्यहाँ रहेका नेपालीहरूसँग सूचना आदानप्रदान गर्न निरन्तर सम्पर्कमा छौँ’ उनले भने । 

हमासले शनिवार इजरायलमाथि आक्रमण सुरु गरेको थियो । हालसम्म ५ हजारभन्दा बढीको सङ्ख्यामा रकेट आक्रमण गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रकेट आक्रमण, समुद्री र स्थलमार्ग हुँदै आक्रमण जारी हुँदा उद्धारमा समस्या भइरहेको हो । 

एनआरएनए इजरायलका निवर्तमान अध्यक्ष गणेश गिरीले अझै १२ जना नेपाली सम्पर्कमा आउन नसकेको बताए । उनीहरूलाई सम्पर्कमा ल्याउने कोसिस जारी रहेको उनको भनाई छ ।