बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले एउटै कम्पनीसँग मात्र सम्झौता गरी आर्थिक चलखेल गरेको आरोप स्थानीयले लगाएका छन् । 

pebarse

बिर्तामोड नगरपालिकामा जनप्रतिनिधि आएपश्चात साना गल्ली तथा सडकहरुमा पेबर्स लगाउने अभियान नै सञ्चालनमा छ । यसका लागि प्रत्येक बर्ष नगरबाट करोडौं रकम निकासा हुने गरेको छ । 

नगरले झापाको अर्जुनधारामा सञ्चालित बिल्डकन इण्डष्ट्रिज प्रालीको मात्र पेबर्स प्रयोग गर्न अनुमति दिएका छ । अन्य कम्पनीको पेबर्स प्रयोग गर्दा रकम भुक्तानी रोक्का गर्ने गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् । 

pebars

बिर्तामोड नगरपालिका–३ मा रहेको नवदुर्गा टोल बिकास समितिले ११५ मिटर लामो भित्री सडकमा पेबर्स लगाउनका लागि उपभोक्ता समिति गठन गरिएको थियो । ४ मिटर चौडाई रहेको सो सडकमा पेबर्स बिछ्याउँदा बिल्डकन इण्डष्ट्रिजका प्राविधिकले ६ लाख २३ हजार ४६५ रुपैयाँ लगानी पर्ने बताएको उपभोक्ता समितिका अध्यक्ष मोहन ढकालले जानकारी दिए । 

वडा कार्यालयले करसहित ५ लाख रुपैयाँ मात्र बिनियोजन गरेको थियो । सो रकम अपुग हुने भएपछि उपभोक्ताहरुले बिनियोजित रकम बराबरमा काम गर्न सक्ने कम्पनीको खोजी शुरु गरेका थिए । सोही क्रममा केही समय अघि सोही टोलका अगुवा श्रीप्रसाद शिवाकोटीको आगनमा पेवर्स लगाएका भद्रपुरको लक्ष्य ब्रिक एण्ड मेटल इण्डष्ट्रिजका सञ्चालक सुर्य श्रेष्ठलाई सम्पर्क गरे । श्रेष्ठले त्यस सडकमा वडाबाट बिनियोजित रकमको कर बाहेक ४ लाख ६५ हजार रुपैंयाँमा पेबर्स लगाउन सहमत भए । उनकै उद्योगले हाल त्यहाँ पेबर्स लगाउने काम गरिरहेको छ । 

बिल्डकनले बिर्तामोडका सडकमा ६० एमएमको पेबर्स बिछ्याउदै आएको छ । बिल्डकनले उत्पादनको २ बर्ष ग्यारेन्टी दिने गरेको सञ्चालक नविन गट्टानीले बताए । त्यसैगरी थप २ बर्ष फुटेको ठाउँको पेबर्स परिवर्तन गरिदिने उनले बताए । त्यसपछि कम्पनीको कुनै दायित्व नहुने जानकारी उनले दिए । तर, नगरपालिकाले लगातार सोही कम्पनीको पेबर्स मात्र प्रयोग गर्न उपभोक्तालाई दवाब दिनु रहष्यको बिषय बनेको छ । 

नवदुर्गा टोलले काम लगाइरहेको कम्पनी लक्ष्यले भने १० बर्ष ग्यारेन्टी दिने गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए । ‘१० बर्षभित्रमा टुट–फुट भए हामी आफै परिवर्तन गरिदिन्छौं, श्रेष्ठले भने–‘८० एमएमको पेबर्स हामीले प्रयोग गर्ने गरेका कारण जतिसुकै लोड बोकेको सवारी साधनलाई पनि प्रवेश गर्न दिन सकिन्छ ।’ 

नगरपालिकाले भने बिल्डकन इण्डष्ट्रिजको पेबर्स प्रयोग नगरे रकम भुक्तान गर्न आलटाल गर्ने गरेको आरोप उपभोक्ताको छ । नेपाल गुणस्तर(एनएस) को नाममा एउटै उद्योगबाट उत्पादित पेबर्स निरन्तर प्रयोग गरिनु रहष्यमय छ । नगरपालिकाले ग्यारेन्टी थोरै भएको लागत बढी पर्न जाने सो पेबर्सको बिकल्प खोज्नुपर्ने उपभोक्ताको भनाई छ । 

नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा मात्र ४ दशमलब ४४ किलोमिटर पेबर्स बिछ्याएको बताएको छ । यही हिसाबले रकम खर्च हुँदा करोडभन्दा माथिको चलखेल हुने अनुमान गर्न सकिन्छ । बिल्डकनको मात्र पेबर्स खरीद गरेको भन्दै सरोकारवालाले केही समय अघि त्यसको बिरोध पनि गरेका थिए । तर, हालसम्म नगरपालिकाले स्थानीयको बिरोधलाई सम्बोधन गरेको छैन । स्थानीयका अनुसार बिल्डकनबाट ठुलो कमिशन आउने भएकाले त्यही कम्पनीको उत्पादनलाई मात्र सिफरिस गर्ने गरेको आरोप छ । 

नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले मापदण्ड नपुग्ने कम्पनीको उत्पादन प्रयोग गर्न नदिएको बताएका छन् । उनले बिल्डकनले एनएस चिन्ह प्राप्त गरकाले सोही कम्पनिको पेबर्स प्रयोग हुँदै आएको जानकारी दिए । 

नगरपालिकाले बिल्डकनमा मात्र नभई नदीजन्य सामग्री खरीदमासमेत सिण्डिकेट प्रयोग गरेर कमिशन लिने गरेको आरोप छ ।