भद्रपुर । राजश्व अनुसन्धान कार्यालयले व्यापारीको गोदाममा छापा मारेको छ । आइतबार राजश्वको टोलीले भद्रपुरमा रहेको संजीव घोषको गोदाममा छापा मारेको हो ।

Screenshot_20231009-075447_Facebook

भद्रपुर बजारमा सनराइज बैंक भएको बिल्डिङमा रहेको घोषको गोदाममा छापा मारेर राजश्व अनुसन्धान कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख सुरेश आचार्यको नेतृत्वमा आएको टोलीले आइतबार करिब तीन बजे घोषको गोदाममा छापा मारेको थियो । घोषको उक्त गोदामबाट खरिद बिक्री खाता, काटिएको भ्याट बिल लगायतको कागज पत्र नियन्त्रणमा लिएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । छापा मारेर कागज पत्र राजश्वले लगेको ब्यवसायी घोषले स्वीकार गरे ।

‘खरिद बिक्री खाता, भ्याट बिल लगायतको कागजात नियन्त्रणमा लिएका छौँ,’ राजश्व कार्यालय प्रमुख आचार्यले भने, ‘अनुसन्धानपछि कारबाहीको कुरा हुन्छ, कागजात विभाग पठाउँछौँ ।’ 

शनिबारमात्रै सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पको टोलीले बिर्तामोड–३ स्थित आदर्श पेट्रोप पम्प छेउबाट को १ च ६४०० नम्बरको गाडी पक्राउ गरेको थियो ।

भन्सार छली गरेको सामाग्री बोकेको सूचनाका आधारमा गाडी पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ हेक्वा झापाका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए । गाडीमा नौ पोका कपडा रहेको उनले बताए ।

झापाको विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएको लत्ता कपडा, पटका, चिनी लगायतका सामान काठमाण्डौसम्म पुग्ने गरेको छ । पछिल्लो समय झापाको बाहुनडाँगी, तिरिङ, काँकरभिट्टा, कचनकवल, घेराबारी, भद्रपुरलगायतका नाकाबाट भन्सार छलेर सामान ल्याउने क्रम बढेको छ । भद्रपुरका व्यापारीले भद्रपुर भन्सारबाटै सेटिङमा सामान ल्याउने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार तस्करीमा संलग्नहरुले भन्सारका कर्मचारी, प्रहरी, राजनीतिक दलका कार्यकर्तासँग सेटिङ मिलाएर सामान नेपाल छिराउने गरेका छन् ।