बिर्तामोड । गत बिहीबार झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागि कार्यक्रममा भएको गाडी तोडफोडको घटनामा संलग्न भएको आरोपमा अर्का एकजना पक्राउ परेका छन् ।

प्रहरीले बिर्तामाेडका विजय चौधरीलाई पक्राउ गरेको हो । चौधरी बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाई समर्थक हुन् । प्रसाईका पुर्व सवारी चालक उनले केही समय अघि बिर्तामोडको मुक्तिचोकमा शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । यद्यपि उनको समयमै उद्दार भएको थियो । 

उनलाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए । यसअघि घटना भएकै दिन विक्रम लिम्बू पक्राउ परेका थिए ।

कार्यक्रम भएको दिन अर्जुनधारामा २१ वटा सवारीसाधनमा तोडफोड भएको थियो । १३ वटा चारचक्के र ८ वटा दुई चक्के सवारीसाधनमा क्षति पुगेकाले क्षतिपूर्तिको मागसहित दोषीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम कार्वाही गर्नुपर्ने पीडितहरुले उजुरी दिएका छन् ।