शनिश्चरे । चोरीको मोटरसाइकलसहित शनिश्चरेबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका– ५ निवासी महमद अफरोज मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–२ घर भई हाल बिर्तामोड नगरपालिका– १ मा बस्दै आएका प्रेमकुमार श्रेष्ठको मे १० प ६१२६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा सोमबार चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले खोजतलासमा गर्ने क्रममा मियालाई अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरेबाट मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।