बिर्तामोड । तस्करीको काठ छुटाउन प्रहरीलाई घुस दिन खोज्ने दुईजनालाई झापाको अर्जुनधाराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 

अवैधानिक रुपमा ढुवानी गरिरहेको अवस्थामा ट्याक्टरमा लोड गरेको काठ नियन्त्रणमा लिने क्रममा ९५ हजार घुस दिन खोज्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


अर्जुनधारा नगरपालिका- ५ बाँसबारीमा ढुवानी गर्दै गरेको अवस्थामा कागजपत्र नभएको काठ प्रहरीले ट्याक्टरसहित नियन्त्रणमा लिएको थियो । सो समयमा प्रहरीलाई घुस दिएर काठ र ट्याक्टर छुटाउन खोज्ने दुईजनालाई प्रहीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा अर्जुनधारा–३ का कृष्ण श्रेष्ठ र   रोहित घतानी छन् । बाँसवारीस्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्याक्टरलाई गोप्य सुचनाको आधारमा प्रहरी चौकी शनिश्चरेको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार घतानीले प्रहरीलाई घुस रकम दिन खोजेका थिए । 


रोकी राखेको ट्याक्टर चेकजाँच गर्दा माटोले छोपेर ल्याउदै गरेको चिरान गरेको ५४.५ क्युफिट सखुवा जातको चिरान काठ फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।