बिर्तामोड । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा उपलब्ध गराउने उदेश्यले झापामा माछा व्यवसायीले खुद्रा बिक्री केन्द्र स्थापना गर्न थालेका छन् । 

नेपाल मत्स्य पालन किसान संघको अगुवाईमा बिक्री केन्द्र स्थापना शुरु भएको हो । संघले जिल्लाका प्रमुख शहरहरुमा केन्द्र स्थापना गरेर नेपालमा उत्पादित माछा बिक्री गर्ने योजना बनाएको संघका कोशी प्रदेश अध्यक्ष बिष्णुप्रसाद आचार्यले जानकारी दिए । 

संघले बिर्तामोडको भद्रपुर रोडमा पहिलो पटक माछा बिक्री केन्द्र स्थापना गरेको छ । संघका झापा अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले खुद्रा बिक्री केन्द्र स्थापना गरेका हुन् । बिर्तामोड नगरपालिका–१० मा माछा फर्म सञ्चालन गरिरहेका शिवाकोटीले आफ्नो उत्पादन बिक्रीका लागि बिर्तामोडमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए । 

शिवाकोटीले उपभोक्तालाई स्वच्छ, ताजा र गुणस्तरीय माछा सुलभ मुल्यमा उपलब्ध गराउनका लागि बिक्री केन्द्र्र स्थापना गरेको बताए । उनले आफ्नो फर्मबाट उत्पादित माछा सो केन्द्रबाट सिधै उपभोक्तालाई उपलब्ध गराउने पनि बताए । 

भारतीय माछाका कारण नेपालमा उत्पादित माछाको बजार सधै मारमा पर्ने गरेको व्यवसायीको गुनासो छ । भारतीय माछा निर्वाध रुपमा नेपालमा बिक्री हुने क्रम नरोकिएका कारण नेपाली माछा उत्पादक पलायन हुने अवस्थामा रहेको शिवाकोटी बताउँछन् । भारतीय माछा आयात प्रतिस्थापन गर्दै नेपाली माछाको बजार स्थापित गर्ने संघको योजना रहेको उनको भनाई छ । 

नेपालमा भन्दा भारतीय बजारमा सस्तो मुल्यमा माछा उपलब्ध हुन्छ । नेपालमा पोखरीमा पानीका लागि प्रयोग भएको बिजुली अत्यान्तै महङगो हुन्छ । माछा पालन व्यवसायलाई उद्योगका रुपमा राखिएको कारणले बिद्युत महङगो पर्ने गरेको गुनासो कृषकको छ । उनीहरुले बिद्युत उपयोग गर्दा कृषि जन्य उद्योग मानेर सोही अनुसारको शुल्क निर्धारण गर्नपनि माग गरेका छन् । 

माछाका लागि आवश्यक पर्ने दाना लगायतमा पन भारतीय किसान भन्दा नेपाली किसानले महङगो मुल्य खर्च गर्नुपर्ने अवस्था रहेको छ । ‘भारतमा ७० प्रतिशत अनुदखान सरकारले उपलब्ध गराउँछ, आचार्यले भने–‘नेपालमा अनुदान त छ, तर, वास्तविक माछा व्यवसायीले त्यो अनुदान पाउन सकेका छैनन्, त्यसकारण यहाँको उत्पादनमा लागत बढी हुन्छ ।’

नेपाली माछा पालक किसानलाई माछा बिक्रेता व्यवसायीबाट पनि असहयोग हुने गरेको गुनासो शिवाकोटीले गरेका छन् । धेरै मुनाफा आउने कारणले माछा बिक्रेताले भारतीय उत्पादन नै बिक्री गर्ने गरेको उनको भनाई छ । भारतीय माछामात्र बजारमा बिक्री गर्ने गरेका कारण नेपाली उत्पादनले बजार नपाउने गरेको हो । 

चोरी तस्करी भएर आउने माछा नियन्त्रणमा लिनसके नेपाली उत्पादनले बजार पाउने आसा उनीहरुको छ । नेपालमा उत्पादित माछा बिक्री गर्न बिक्रेताले नचाहेपछि आफै बिक्री केन्द्र स्थापना गरेर बिक्री सुरु गर्न थालेका हुन् ।