ढाका । बंगलादेशका कृषकहरूले यस वर्ष कीर्तिमानी १ दशमलब ४ करोड टन उत्पादन गरे पनि आलुको मूल्य उकालो लागेको छ । जसले स्थिर र न्यून आय भएका उपभोक्ताहरुलाई त्रसित बनाएको छ ।

एक साताभित्रै ढाकाको बजारमा प्रति किलोग्राम ५ रुपैयाँले भाउ बढेर अधिकतम ४५ रुपैयाँ पुगेको बंगलादेशको ट्रेडिङ कर्पाेरेसनले जनाएको छ । आलुको हालको मूल्य गत वर्षको तुलनामा ५७ प्रतिशत बढी हो ।

थोरै समयमा आलु बिक्रीको लागि चिसो भण्डारमा भण्डारण गर्ने व्यापारी र ठूला व्यवसायी किसानले स्टक निष्कासनमा ढिलासुस्ती गरिरहेकाले मुल्य बढेको सरोकारवालाले बताएका छन् ।

सेप्टेम्बरमा रोपण सुरु भएपछि, आलु बढ्न ९० दिन लाग्छ । जनवरीबाट फसलले अर्र्काे दुई महिनाको लागि आपूर्ति सुनिश्चित गर्दछ । तर, जुलाईसम्ममा शीतभण्डारमा रहेको स्टक छोड्नुपर्ने हुन्छ र यो अर्काे फसलसम्म जारी रहन्छ ।

बंगलादेशको तथ्याङ्क ब्यूरोबाट आएको वार्षिक उत्पादन आंकडा अघिल्लो वर्षको तुलनामा २ शमलब ८३ प्रतिशत बढी रहेको बताउँछ । व्यवसायीका अनुसार वार्षिक माग करिब १ करोड टन रहेको छ ।

‘यस वर्षको उत्पादन बंगलादेशको इतिहासमा रेकर्ड उच्च हो । अहिले देशमा आलुको अभाव छैन,’ कृषि विस्तार विभागका फिल्ड सर्भिसका निर्देशक मोहम्मद ताजुल इस्लाम पटवारीले भने । मूल्यवृद्धिको कारणमा, उनले राष्ट्रिय उपभोक्ता अधिकार संरक्षण निर्देशनालयजस्ता जिम्मेवार निकायहरूले बजार अनुगमनको अभावलाई दोष दिए ।

तर, बंगलादेश कोल्ड स्टोरेज एसोसिएसन (बीसीएसए) ले सरकारको उत्पादन अनुमानमा असहमति जनाउँदै ८० लाख टनभन्दा बढी उत्पादन नभएको बताएको छ ।

‘हामी सरकारी तथ्यांकसँग सहमत छैनौ, बीसीएसएका अध्यक्ष मुस्तफा आजाद चौधरीले भने, सरकारी तथ्यांक कसरी आयो त्यो हामीलाई थाहा छैन ।’ चौधरीले बंगलादेशको आलुले बर्षभरी धान्न सक्ने बताए ।