झापा । बचत फिर्ता नगर्ने झापाका सहकारी संचालकहरु पक्राउ पर्न थालेका छन् । यसक्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् ।

सहकारीका संचालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दुवै बुद्धशान्ति गाउँपालिका – २ का हुन् ।
 

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकविरुद्ध उजुरी परेको थियो । सहकारी रजिष्ट्रार कार्यालयको पत्रअनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । पक्राउ परेका उनीहरुसहित पाँच जनाविरुद्ध उजुरी परेको बताइएको छ ।

तर, अन्य व्यक्ति फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि सहकारी जयपुर सहकारी बन्द भएको छ । २०५९ सालमा स्थापित संस्थामा ४९ लाख ९८ हजार १ सय रुपैयाँ शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १ सय ४४ रुपैयाँ निक्षेप बचत रहेको छ ।

झापाका अन्य सहकारीविरुद्ध पनि उजुरी परेको छ । आफूहरुले सहकारीहरुले गरेको ठगीलाई गंभीरताका साथ लिएर कार्वाही शुरु गरेको एसपी केसीले बताए । उनले भद्रपुरको अर्को सहकारीविरुद्ध उजुरी परेको र त्यसका संचालकलाई कार्वाही शुरु गर्न लागिएको जानकारी दिए ।

बचतकर्ताहरुको करोडौं रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड , पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा , संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको झापा जिल्ला सहकारी संघले जनाएको छ ।