अर्जुनधारा । झापाकाे अर्जुनधारा जलेश्वर धाममा पुस्तकालय स्थापना भएकाे छ । धामका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खरेलकाे स्मृतिमा धाम परिसरमा 'दुर्गा-पद्मजा स्मृति पुस्तकालय' स्थापना भएकाे हाे । 

library 2

खरेलका सन्ततीहरुले उनकाे याेगदानलाई भावी पुस्ताले पनि मुल्यांकन गर्न सकाेस भनेर पुस्तकालय स्थापना गरेकाे जनाएका छन् । दुर्गाप्रसाद खरेलका नाती सुनिलले आफना हजुरबुबाकाे याेगदानलाई आउने पुस्ताले पनि स्मरण गराेस भनेर पुस्तकालय स्थापना गरेकाे जनाएका छन् । 

सुनिलका बाबु लक्ष्मीप्रसाद खरेलले धामसँगै जाेडिएकाे १० धुर जमिन खरिद गरेर भवन  निर्माण गरेका थिए । साेही भवनमा सुनिलले पुस्तकालय स्थापना गरेका हुन् । पुस्तकालयकाे शिवरात्रीकाे अवसर पारेर शुक्रबार उद्घाटन गरिएकाे छ । दाता परिवार सुनिल र बन्दनाले पुस्तकालयकाे उद्घाटन गरेका हुन् । 

पुस्तकालयका लागि आवश्यक पुस्तक तथा  बिभिन्न फर्निचरका सामान भने अर्जुनधारामा घर भई अमेरिका बसाेबास गर्ने नेपालीहरुले खरिद गर्न सहयाेग गरेकाे बताइएकाे छ । उनीहरुले गरेकाे आर्थिक सहयाेगले ती सामाग्री खरिद गरिएकाे पुस्तकालयका संयाेजक कृष्ण पाैडेलले जानकारी  दिए । 

पुस्तकालयमा हिन्दु धर्मका  बिभिन्न ग्रन्थ, किराँत र बुद्व धर्मका ग्रन्थ राखिने धामका प्रमुख अर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए । उनले युवा पुस्तामा पठन संस्कृति हराउँदै गएकाे समयमा पुस्तकालय स्थापनाले उनीहरुमा पढ्ने बानीकाे  विकास हुने दावी गरे । चाँडै नै त्यस पुस्तकालयलाई बिकास गरी ई- लाइब्रेरी बनाइने लक्ष्य रहेकाे उनकाे भनाई छ । त्यसका लागि वर्ल्ड लिङ्कले निशुल्क इन्टरनेटकाे सुविधा उपलब्ध गराउने सहमति पनि भएकाे छ ।