बिर्तामाेड । भारतको सिलिगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ ।

शर्मा स्थानीय लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए ।

घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलगुडी जंक्सन पुगेका थिए । जंक्सन पुग्दा कटिहार-सिलिगुडी इन्टरसिटी एक्सप्रेस ४ नम्बर प्लेटफार्मबाट हिँडेका थिए । उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर लडेका थिए । रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका उनलाई तत्काल भारतीय रेल्वे प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएकाे थियाे ।

उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शवको कानुनी प्रक्रिया पूरा गरी भद्रपुर  ल्याउने र मेची नदीमा दाहसंस्कार गरिने भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिए ।