बिर्तामोड । अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ ।
Messenger_creation_b162a083-0d95-4d48-8815-66d02f99c65c

इलामको सूर्योदय–७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको मेरो रेडियोमा समाचार बाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन् ।

विर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहेका उनको दाहिने गाला, कान र चिउडोमा मासुको ठूलो लुर्को पलाएको छ । 

डेरामा बसेर अध्ययन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका उनलाई मासुले अनुहार ढाकेका कारण हिँडडुल गर्न र खान समस्या भइरहेको छ भने कान र दाहिने आँखामा पनि समस्या भएको बताउछन । 

मासु पलाउने समस्या जन्मजात भएको जनाउँदै पत्रकार भट्टराईले धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र विर्तामोडको बीएन्डसी हस्पिटलमा जचाउँदा चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको जानकारी दिए ।

उपचारका लागि आर्थिक अभाव भएको उनले बताए । अरु मान्छे जस्तै हुन इच्छा भएको र रुपकै कारण धेरै कुरा गुमाएको बताउने भट्टराईले उपचारका लागि पहल गरिदिन अपिल गरेका छन्।    

हाम्रो अभियान नेपालका संयोजक नरेश मोहोराले उहाँको उपचारका लागि इजी केयर फाउन्डेसनमार्फत शुष्मा मेमोरियल अस्पताल काठमाडौंमा पहल भइरहेको बताए ।

भविष्यमा असल पत्रकार बनेर समाजसेवा गर्ने सपना साँचेका उनको बुवाआमा सामान्य कृषक हुन् भने एउटा भाइ वैदेशिक रोजगारीको सिलसिलामा मालद्विपमा छन् ।