झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको में ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्। 

विपरीत दिशाबाट आएको प्रदेश १- ००१-००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनैजनाको उपचारका लागि सो अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका छन्। 

मृतकको साथमा चुरोट, १ देखि २०० सम्म नेपाली नगद रुपैयाँ मात्र फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक ले बिना हेल्मेट मोटरसाइकल चलाइरहेका थिए। 

मृतक तिनै जनाको पहिचान खोल्ने कागजपत्र फेला नपरेको अस्पतालले जनाएको छ। मोटरसाइकल ,बोलेरो,बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।