झापा । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई गएराति पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगर प्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका केही विद्यार्थीले काठमाडौंको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिकाबारे सर्वेक्षण गरिरहेका थिए । त्यसक्रममा ती नाबालिका अध्ययनरत विद्यालयमा पुगेर सर्वेक्षण गर्दा उनलाई काममा लगाइएको र श्रमशोषण भएको खुलाएकी थिइन् । ६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।