झापा । भद्रपुर नगरपालिका–६ संगम चोकस्थित एक घर भत्काउने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

आज अपराह्न करिब ३७ बजे राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घरको बिम खस्दा दुई जना छतबाट लडेका थिए। गम्भीर घाइते भएका भद्रपुर–५ राजन चोक निवासी अन्दाजी ३४ वर्षीय ओपेन राजबंशीलाई उपचारका लागि ओमसाई अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव कानुनी प्रक्रिया पूरा गरी साँझ ६:३० बजे पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

उक्त घटनामा घाइते भएका भद्रपुर–५ पोखरीटोल निवासी अन्दाजी ३५ वर्षीय धर्मेन्द्र यादवको प्रादेशिक मेची अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनलाई साँझ ६:४० बजे सिटी स्क्यान गर्न ओमसाइ पाथिभरा अस्पताल रेफर गरिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।