बिर्तामोड । आज बिहान १० बजेको समयमा इलामको देउमाई नगरपालिका–८ आमबोटे बस्ने वर्ष ६० का मनबहादुर मगरको कुखुराको हड्डी अड्किएर मृत्यु भएको छ।
सोही स्थानका छिमेकी रामबहादुर मगरको घरमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
स्थानीयले घटनाबारे इलाका प्रहरी कार्यालय मंगलबारे, इलाममा जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जितपुर, इलामबाट प्रहरी सहायक निरीक्षक जीवनकुमार गिरीको कमाण्डमा २ जनाको टोली खटिई करिब १०:३० बजे घटनास्थलमा पुगेर स्थल सुरक्षित राखेको थियो।
घटनास्थल अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय मंगलबारे, इलामबाट प्रहरी नायव निरीक्षक रामहरि के.सी.को कमाण्डमा टोली तथा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक मौसम उदासको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।


















