बिर्तामोड । झापाका दुई स्थानमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।

आज बिहान करिब ०९:३० बजे कमल गाउँपालिका–५ पाडाजुङ्गी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा भएको हो। काकडभिट्टाबाट दमकतर्फ जाँदै गरेको मे १ ख ३०६८ नम्बरको यात्रुबाहक बसमा चढ्न खोज्दा दमक नगरपालिका–८ बस्ने ३५ वर्षीय निर्मल कार्की लड्न गई सोही बसको चक्काले उनको बाँया खुट्टामा किच्दा गम्भीर घाइते भएका हुन्। उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ। घाइतेको अवस्था बोल्न नसक्ने रहेको प्रहरीले जनाएको छ भने बस चालकलाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी आज बिहान करिब ९ बजे अर्जुनधारा नगरपालिका–७ गडीस्थित शनिश्चरे–खुदुनाबारी सडक खण्डमा दुर्घटना भएको छ। शनिश्चरेबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे ४ प ३८२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक अर्जुनधारा–१ बस्ने ४० वर्षीय टंक गौतम घाइते भएका छन्। उनको अनुहार, हात र खुट्टामा चोट लागेको छ। घाइतेको शनिश्चरेस्थित शंकर अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको छ।

दुर्घटनामा संलग्न सवारी साधन प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।