बिर्तामोड । हिजो साँझ गौरादह नगरपालिका–१ सितापुरी चोक स्थित पाडाजुगी–गौरीगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ।

दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र.न. १–०१–०१५ प.७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक दमक–९ बस्ने वर्ष ३३ का दिप बहादुर मगर सकुशल रहेका छन्। तर सोही मोटरसाइकलमा पछाडि सवार दमक–९ कै वर्ष २७ का पदम बहादुर मगर गम्भीर घाइते भएका थिए।

घाइते मगरको दाहिने आँखाको डिलमा चोट लागेको अवस्थामा सुरुमा नगर अस्पताल गौरादहमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको र राति २२:१० बजे पुनः थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो।

उपचारकै क्रममा  आज बिहान ०३:४० बजे पदम बहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। हाल मृतकको शव सोही अस्पतालमा रहेको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मोरङसँग समन्वय भइरहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।