बिर्तामोड । झापा जिल्लाका विभिन्न स्थानमा आइतबार साँझ आगलागीका दुई छुट्टाछुट्टै घटना हुँदा लाखौं बराबरको क्षति भएको छ।

हिजो बेलुका ८:३० बजेतिर स्थानीय सुरज खतिवडाको काठले बनेको टिनको छानो भएको ४ कोठे दुईतले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हो।

मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयको सक्रियतामा राति ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री जलेर करिब रु. २ लाख ५० हजार बराबरको क्षति भएको छ। 

यसैगरी, मेचीनगर नगरपालिका–१२ सरेडाँगीमा राति ९:३० बजेतिर आगलागी भएको छ ।  स्थानीय मनमाया धौरालीको गाई गोठमा लामखुट्टे भगाउन बालेको मच्छेट धुपबाट आगो सल्किँदा परालमा फैलिएको थियो।

मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति २२:०० बजे आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट गाई गोठ तथा पराल जलेर करिब रु. ८० हजार बराबरको क्षति भएको छ।