बिर्तामोड । झापाको बिर्तामोड र कमल गाउपालिकामा आज दुई वटा सवारी दुर्घटना भएका छन्।

आज बिहान बिर्तामोड नगरपालिका–३ स्थित लिटिल फ्लावर स्कुल नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो। बिर्तामोडबाट गरामनीतर्फ जाँदै गरेको बा ५२ प ३०५५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री ३६ वर्षीय कुमार विकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा विकको घाँटीमा चोट लागेको र उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल पठाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालक अर्जुनधारा–३ का ५१ वर्षीय किशोर ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही समयमा कमल गाउँपालिका–५ स्थित रवि पेट्रोल पम्प नजिक पूर्व–पश्चिम राजमार्गमा अर्को दुर्घटना भएको हो। दमकबाट पाडाजुङीतर्फ जाँदै गरेको को ३८ प १५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–२–०४१ प २२८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा १५३१ नम्बरको मोटरसाइकल चालक गौरादह–१ का ३९ वर्षीय जीवन पुरी घाइते भएका छन्। उनको हातखुट्टा र औंलामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ। सोही मोटरसाइकलमा पछाडि सवार डमन सापकोटा भने सकुशल रहेका छन्।

मोटरसाइकल चालक भने घटनापछि फरार भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको छ।