बिर्तामोड । ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना हुँदा झापाको अर्जुनधाराका ४ जना घाइते भएका छन्।
आज दिउँसो करिब ४:३० बजे ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका–९ छातेढुङ्गा स्थित फुङलिङ–काफ्लेपाटी भित्री सडकखण्डमा दुर्घटना भएको हो।
फुङलिङ बजारबाट काफ्लेपाटी तर्फ जाँदै गरेको मे १ ज २४५९ नम्बरको बोलेरो गाडी उकालो चढ्ने क्रममा तान्न नसकी ब्याक हुँदा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सवार १० जना मध्ये ४ जना यात्रु (दर्शनार्थी) सामान्य घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।
घाइते हुनेहरुमा झापा अर्जुनधारा नगरपालिका–९ बस्ने १९ वर्षीया रचना ढकाल (बाँया कुम र खुट्टामा चोट), ३९ वर्षीया हिमा कट्टेल (टाउको र छातीमा चोट), ३८ वर्षीया मुना ढकाल (बाँया हातको कुहिनामा चोट) र ४५ वर्षीय मणि कुमार ढकाल (घाँटी तथा कम्मरमा चोट) रहेका छन्।
बोलेरो चालक फुङलिङ नगरपालिका–५ बस्ने अन्दाजी २५ वर्षीय रायन गुरुङ दुर्घटनापछि फरार रहेका छन्। प्रहरीले चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यता इलाममा लोड ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।
आज साँझ करिब ५:०० बजे इलाम जिल्ला माइजोगमाई गाउँपालिका–३ कामेटार स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो।
कामेटारबाट झापा तर्फ जाँदै गरेको ना ०५ च २१९७ नम्बरको उत्तिसको गोलिया बोकेको ट्रक उकालो चढ्ने क्रममा अनियन्त्रित भई करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक सुर्योदय नगरपालिका–२ बस्ने अन्दाजी ३६ वर्षीय भोजराज पौडेल घाइते भएको पुष्टि भएको हो। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते चालकलाई उपचारका लागि झापा पठाइएको छ भने हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।
उक्त ट्रकमा चालक मात्र सवार रहेका थिए। दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ।



















