बिर्तामोड । भारतको बनारसस्थित अस्पतालमा बेवारिसे अवस्थामा उपचाररत रहेका झापाका एक व्यक्तिको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बैशाख १० गते प्रहरी उपरीक्षक बसुन्धरा खड्काको मोबाइलमा नेपाल घर भएका एक व्यक्तिको भिडियोसहित सूचना प्राप्त भएको थियो। भिडियोमा ती व्यक्ति भारतको बनारसस्थित अस्पतालमा लावारिस अवस्थामा उपचाररत रहेको उल्लेख थियो।

प्राप्त सूचनाको आधारमा बाहुनडाँगी प्रहरी चौकीमार्फत खोजी गर्दा उनको घरपरिवार पत्ता लगाइएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरी समन्वयमा आफन्तहरू बनारस पुगेका थिए।

पीडित मेचीनगर–४, बाहुनडाँगीका ५६ वर्षीय सन्तोष विक रहेको खुलेको छ। उनलाई अपरिचित व्यक्तिहरूले कुटपिट तथा लुटपाट गरी घाइते अवस्थामा छाडेका थिए। स्थानीयले उद्धार गरी बनारसस्थित एसएसपीजी अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए।

पछि आफन्तले उनलाई नेपाल ल्याई झापाको बिराटनगरको  नोबेल अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन्।