झापा । झापा गाउँपालिका–४ बालुबाडी क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएको करिब १५० केजी माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।

आज साँझ करिब ४:४५ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले लुकाई–छिपाई नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी ४५ हजार रुपैयाँ बराबरको मरेको माछा बरामद गरेको हो।

प्रहरीले माछा ओसारपसारमा प्रयोग भएको मे ११ प ३९४२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ। गस्ती टोलीलाई देखेपछि माछा ल्याउने व्यक्ति भने फरार भएका छन्।

बरामद माछा साँझ करिब ६:०० बजे झापा गाउँपालिका–१ का वडा सदस्य कमल बहादुर लिम्बु तथा स्थानीय भद्रभलादमीको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ।