बिर्तामोढ । आज बिहान झापाको मेचीनगर नगरपालिका–२ आदर्श टोलमा जंगली हात्तीको आक्रमणबाट दुई घरमा क्षति पुगेको छ।
स्थानीय श्यामलाल अर्यालको ढुङ्गा, माटो तथा काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घरमा हात्ती प्रवेश गरी पूर्ण रूपमा भत्काएको छ। सो क्रममा भान्साघरभित्र राखिएको धान र आलु समेत गरी करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही स्थानकी बबिता पुरीको पनि उस्तै प्रकारको भान्सा घरमा हात्तीले क्षति पुर्याउँदा चामल लगायत खाद्यान्न गरी करिब १४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
घटनाबाट दुई घरको भान्सा घर तथा खाद्यान्न गरी जम्मा ४४ हजार रुपैयाँ बराबरको क्षति भएको छ। मानविय क्षति भने नभएको जनाइएको छ।
स्थानीयवासीमा त्रास फैलिएको छ भने सम्बन्धित निकायले आवश्यक निगरानी र नियन्त्रणका उपायहरू अपनाइरहेको जनाएको छ।


















