बिर्तामोड । 'प्राइड मिडिया प्रालि' को आयोजनामा “पत्रकारिताको चुनौती र अबको बाटो” विषयक अन्तरक्रिया कार्यक्रम तथा क्यालेन्डर सार्वजनिक गरिएको छ। कार्यक्रम कम्पनीका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा सहसम्पादक सुनिरा मैनालीले स्वागत मन्तव्य राख्दै पत्रकारिताको मूल दायित्व सत्य, निष्पक्ष र विश्वसनीय सूचना प्रवाह गर्नु भएको बताइन्। उनले बदलिँदो समयसँगै पत्रकारितामा चुनौती थपिँदै गएको उल्लेख गर्दै पेशागत मर्यादा कायम राख्नु आवश्यक रहेको धारणा व्यक्त गरिन्।
शुभकामना मन्तव्य राख्ने क्रममा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, वर्तमान अध्यक्ष एकराज गिरी तथा महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे धारणा राखेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले सुकुम्बासी समस्याबारे बोल्दै बसोबासको विकल्प नदिई बस्ती हटाउने कार्य उपयुक्त नहुने बताइन्। “राज्यले विकल्प नदिई सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैन,” उनले भनिन्, “गृहमन्त्रालयबाट दबाब आइरहे पनि स्थानीय तहलाई व्यवहारिक समाधान खोज्नुपर्ने अवस्था छ।” उनले सञ्चारमाध्यमलाई टेवा पुग्ने गरी स्थानीय तहले कानुनी व्यवस्था गरेको र यसलाई निरन्तरता दिइने समेत स्पष्ट पारिन्।
कार्यक्रममा पत्रकारिता क्षेत्रका चुनौती, जिम्मेवारी र आगामी दिशा बारे व्यापक छलफल गरिएको थियो। साथै, प्राइड मिडियाले आफ्नो वार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको जनाएको छ।


















