झापा । फिदिम नगरपालिका–१ शनिबारेमा चट्याङका कारण आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।

मंगलबार राति करिब २२:२० बजे भगवती ढुङ्गेलको काठले बनेको टिनको छानो भएको दुई तले कच्ची घरमा आगलागी भएको हो। सो घर हिलिहाङ गाउँपालिका–५ बस्ने छ्याउमाया तामाङले भाडामा लिएर बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार चट्याङ परेपछि ग्यास सिलिण्डर चुहावट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी सहायक निरीक्षक चित्र थेबेको नेतृत्वमा खटिएको टोली, सशस्त्र प्रहरी बलको सहयोग तथा स्थानीयवासीको सक्रियतामा आगो राति २२:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट घर आंशिक रूपमा जलेको छ भने भित्र रहेका सामानमा क्षति पुगेको छ। छ्याउमाया तामाङले सञ्चालन गरेको दुग्ध डेरीमा रहेका २ वटा डी–फ्रिज, १ वटा ग्यास चुलो र ४ वटा सिलिण्डर जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यसैगरी सोही घरमा एल्भिस नेम्वाङले सञ्चालन गरेको अनलाइन पसलका ब्याग तथा कस्मेटिक सामग्री जलेर करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।