बिर्तामोड । भूमिहीन सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न माग गर्दै विभिन्न संघ–संगठनहरूले बिर्तामोडमा खबरदारी र्‍याली प्रदर्शन गरेका छन्।

भुमि अधिकार तथा श्रमिक संगठन नेपाल झापा, भूमिहीन सुकुम्बासी संगठन बिर्तामोड र राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा बुधबार बिर्तामोड नगरपालिका–३ स्थित दुर्गा मन्दिर अगाडिबाट र्‍याली सुरु गरिएको हो।

भूमिहीन सुकुम्बासी समितिका बिर्तामोड संयोजक विष्णुमाया विश्वकर्माको नेतृत्वमा तथा संगठनका जिल्ला अध्यक्ष अर्जुन लिम्बुको सहभागितामा र्‍याली निकालेका थिए। सहभागीहरूले “आवास हकको ग्यारेन्टी गर”, “भूमि अधिकार सुनिश्चित गर”, “जबरजस्ती उठीबास बन्द गर” लगायतका नाराहरू लगाउँदै प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

र्‍याली बिर्तामोड नगरपालिकाको कार्यालयमा पुगेर कोणसभा तथा नाराबाजीमा परिणत भएको थियो। त्यसपछि पाँच सदस्यीय प्रतिनिधिमण्डलले नगर प्रमुख पवित्रादेवी महतरा प्रसाईंमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा बिर्तामोड क्षेत्रका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको घर टहरा भत्काउने कार्य रोक्न, वास्तविक सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन, भू–माफियामाथि कारबाही गर्न, डोजर प्रयोगका कारण आत्महत्या गरेका व्यक्तिहरूलाई शहीद घोषणा गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ।