बिर्तामोड । झापाको अर्जुनधारा र दमकमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।
अर्जुनधारा नगरपालिका–८ कदमगाछीस्थित शनिश्चरे–बिर्तामोड सडक खण्डमा शुक्रबार राति बजे दुर्घटना भएको हो। शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ८०२६ नम्बरको मोटरसाइकलले सोही दिशामा साइकल चलाइरहेका ६१ वर्षीय राजकुमार चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्जुनधारा–९ निवासी चौधरीको टाउकोमा चोट लागेको छ। उनको शनिश्चरेस्थित शंकर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, दमक नगरपालिका–७ श्रीपाली चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको छ। श्रीपाली चोकबाट पशुहाटतर्फ जाँदै गरेको प्रदेश १-०२-०५७ प ७९११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भोजपुर ट्याम्केमैयुङ गाउँपालिका–३ निवासी ३९ वर्षीय रविचन्द्र गिरी घाइते भएका छन्।
गिरीको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको दमक अस्पतालमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ।

















