बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रमुख समस्यामध्ये फोहोर व्यवस्थापन पनि हो । फोहोर व्यवस्थापनमा अन्यौल हुँदा जनप्रतिनिधिले चर्को आलोचना व्यहोर्ने गरेका छन् ।

नगरपालिकाले लगभग ६ बर्ष अघि एउटा निजी कम्पनी (निराकार सरसफाई सेवा) लाई फोहोर व्यवस्थापनको जिम्मा दिएको थियो । नगरपालिकाले आफुसँग भएका सवारी साधन समेेत उसैलाई दिएको थियो । निराकारले बिर्तामोडको फोहोर संकलन गरेर निजी तथा सार्वजनिक जमिनमा पुर्दै आएको छ ।
करीब ४ हजार स्थानीयसँग त्यो कम्पनीले मासिक सुल्क उठाउँदै आएको छ । बिर्तामोडका केही जनप्रतिनिधिको लगानी रहेको भनिएको त्यो कम्पनीसँग नगरपालिकाको सम्झौता अवधि समाप्त भईसकेको छ ।
सम्झौता नविकरणका लागि कम्पनीको जोड छ भने नगरको कार्यपालिकामा यसको नविकरणका विषयमा मतभेद उत्पन्न भएको छ ।
अर्कोतर्फ बिर्तामोड नगरिालिकाको समेत लगानीमा झापाको कनकाईमा फोहोरबाट नविकरणीय उर्जा उत्पादनको लागि प्लान्ट निर्माण भएको छ । भदौ २४ गतेको आन्दोलनमा तोडफोड हुँदा प्लान्टमा पनि क्षति पुगेको छ । केही उपकरण चोरी भएका छन् भने कम्पनीले पुननिर्माण गरेर सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।
यसमा कनकाई, अर्जुनधारा, बिर्तामोड नगरपालिका र ७५० जनाको संयुक्त लगानी छ । विश्व बैकको ४० र स्थानीयको ६० प्रतिशत लगानी रहेको यो प्लान्ट स्थापनामा २५ करोड बढी खर्च भइसकेको बताइएको छ ।
कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरबाट यो प्लान्टको सहायताले बायोग्याँस उत्पादन गर्ने कम्पनीको लक्ष्य हो । प्लास्टिकजन्य फोहोरलाई भने कवाडीलाई बिक्री गरेर आय आर्जन गर्ने बताइएको छ । तीनवटै नगरपालिकाको फोहोर एकीकत रुपमा त्यहाँ उपयोग गर्न सके प्लान्ट पूर्ण रुपमा सञ्चालन हुनसक्ने दावी कम्पनीको छ ।
नगरपालिकाको करोडौं लगानी रहेको यो प्लान्ट सञ्चालन गरेर फोहोर व्यवस्थापनबाट आय आर्जन गर्नुपर्ने माग जनस्तरबाट उठिरहेको बेला नगरपालिकाका केही जनप्रतिनिधि भने निजी कम्पनीसँगको सम्झौता नविकरण गर्न कार्यपालिकामा दवाव दिन थालेका छन् ।
तीनवटा नगरपालिकामध्ये सबैभन्दा बढी फोहोर उत्पादन हुने बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा न १ का अध्यक्ष अग्नि पाण्डेले निराकारसँगको सम्झौता नविकरण हुने बताएका छन् । 'दुई दिन फोहोर उठेन भने बिर्तामोडमा बसिनसक्नु हुन्छ, हामी जनप्रतिनिधिलाई गालीको वर्षा हुन्छ, यो कम्पनीले काम सुरु गरेदेखि हालसम्म बिर्तामोड सफा त छ नि, पाण्डेले भने-'अर्को कम्पनिले यसरी नियमित सफा गर्छ भन्ने के ग्यारेन्टी छ ?' उनले नगरपालिकासँग सम्झौता नविकरण गर्नुको विकल्प नरहेको दावी गरे ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सम्झौता अनुसार निराकारलाई डम्पिङ साइट दिने नगरको जिम्मेवारी भएको बताए । 'कनकाईमा पहिले स्थानीयले अवरोध गरेर फोहोर लान नसकिएको हो, स्थानीयको बिरोध भएन भने निराकारले नै फोहोर त्यहाँ लगिहाल्छ नि, मिश्रले भने-'कार्यपालिकामा नविकरण गर्ने कि नगर्ने भन्ने प्रस्तावमा निर्णय हुन्छ, त्यही अनुसार अघि बढ्छौं ।'
फोहोरलाई व्यवस्थापनसँगै आय आर्जनको विकल्पको रुपमा हेरिएको नविकरणीय उर्जा सञ्चालनमा असर पुग्ने गरि कार्यपालिकाले निर्णय गर्नु नहुने स्थानीयको माग छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितका लागि अग्रसर हुन उनीहरुले आग्रह गरेका छन् ।




















