बिर्तामोड । झापाको बुद्धशान्ति र बाह्रदशीमा दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

 गएराति बुद्धशान्ति गाउँपालिका–६ देउराली चोकस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको हो। रोङबाट तिनकुनेतर्फ जाँदै गरेको प्र.१-०१-०१५ प ३८१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक इलाम रोङ गाउँपालिका–५ बस्ने अन्दाजी २२ वर्षीय नबिन चौलागाई घाइते भएका छन्।

दुर्घटनामा उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। साथै मोटरसाइकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका–१ बस्ने अन्दाजी २३ वर्षीय पुजन चौलागाईको टाउकोमा चोट लाग्नुका साथै बाँया कुमको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। दुवै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको छ ।

घटनापछि मोटरसाइकल अस्थायी प्रहरी चौकी मंगलबारेको नियन्त्रणमा रहेको छ ।

त्यसैगरी, बाह्रदशी गाउँपालिका–४ फुलबारीस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ। फुलबारीबाट चकचकीतर्फ जाँदै गरेको मे ५ प ५२८४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्र १-०१-०१२ प ८६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा ८६७४ नम्बरको मोटरसाइकलमा पछाडि सवार गौरादह नगरपालिका–२ बस्ने ४५ वर्षीया लुखी सोरेन घाइते भएकी छन्। उनको हातखुट्टामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक लखन सोरेन र अर्को मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ बस्ने ५१ वर्षीय कानचनदेव शर्मा उपचार तथा प्रहरी सम्पर्कमा रहेका छन्। दुवै मोटरसाइकल प्रहरी चौकी फुलबारीमा राखिएको छ।