बिर्तामोड । झापाको कमल गाउँपालिका–१ इट्टाभट्टा स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
हिजो साँझ सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ७० वर्षीय शंकर प्रसाद ढुङ्गानालाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको बायाँ खुट्टा र कानबाट रगत बगेको तथा बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोड रेफर गरिएकोमा राति उपचारकै क्रममा मृत्यु भएको हो।
मोटरसाइकल चालक कमल गाउँपालिका–१ निवासी ३५ वर्षीय लुडो सतारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















