बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–५ शान्ति टोलस्थित निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ।
आज दिउँसो स्थानीय ५२ वर्षीय दिननाथ पराजुली ट्याङ्कीको सेटरिङको बाँस खोल्ने क्रममा अचानक तीन तला माथिबाट लडेर गम्भीर घाइते भएका थिए।
घाइते पराजुलीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

















