बिर्तामोड । झापाको हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
गएराति करिब ११ बजे स्थानीय ४४ वर्षीय गोकर्ण भण्डारीले आफ्नी श्रीमती अन्दाजी ३३ वर्षीया उर्मिला भण्डारीलाई धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घटनापछि राति छिमेकी भीम लावतीले अस्थायी प्रहरी चौकी कञ्चनश्रीमा जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक छविहाङ शेर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो।
प्रहरीले घटनामा संलग्न गोकर्ण भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेको थियो। मृतक उर्मिला भण्डारीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
















