बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाडकट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।

प्रहरीका अनुसार २०८३ असोज १२ गते राति करिब बजे राय मादक पदार्थ सेवन गरी पेट्रोल बोकेर बिर्तामोड–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरेका थिए।

रायले तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको थियो। घटनामा घाइते मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।