बिर्तामोड । झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला पाँचथरको नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका घिमिरे हाल जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका थिए। बिहीबार साँझ ५लबजे अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो।

त्यहाँ थप उपचार आवश्यक देखिएपछि राति ९ बजे ओमसाई पाथीभरा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। हिजो राति ९ बजे चिकित्सकको सल्लाहअनुसार अस्पतालको आईसीयूमा राखी उपचार भइरहेका बेला पुनः श्वासप्रश्वासमा समस्या आएपछि थप उपचारका लागि बिर्तामोड पठाइएको थियो।

उपचारकै क्रममा आज बिहान अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ। मृतकको शव हाल सोही अस्पतालमा रहेको छ।

जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले मृत्युअघि ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए।