अर्जुनधारा । बिश्व कछुवा संरक्षण दिवसको अवसरमा “कछुवा संरक्षणको २६ वर्ष” भन्ने नारासहित झापाको झापाकाे सुखानी सहिद स्मृति प्रतिष्ठानमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको आयोजना सुखानी सहिद स्मृति प्रतिष्ठान ले गरेको हो।

सहआयोजकका रूपमा कछुवा उद्धार तथासंरक्षण केन्द्र तथा मानवीय र जैविक विविधता संरक्षण समाज भरतपुर, चितवन रहेका थिए। कार्यक्रममा कछुवा संरक्षण विज्ञ तपिल प्रकाश राईले कछुवाको प्रजनन प्रक्रिया सम्बन्धी रोचक जानकारी दिएका थिए।
उनका अनुसार स्तनधारी प्राणीमा लिङ्ग निर्धारण जैविक कारणले हुने भए पनि कछुवामा भने तापक्रमले लिङ्ग निर्धारण गर्ने गर्दछ। २७ डिग्री सेल्सियसभन्दा कम तापक्रममा उत्पादन भएका बच्चा भाले हुने तथा ३० डिग्रीभन्दा बढी तापक्रममा पोथी हुने जानकारी उनले दिए।
कार्यक्रममा कछुवा संरक्षणमा योगदान पुर्याएको भन्दै पत्रकार इन्द्रजित मुखिया सहित सात जनालाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले वातावरणीय सन्तुलन कायम राख्न लोपोन्मुख अवस्थामा रहेका कछुवाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका थिए । उनले सुखानी सहित स्मृति प्रतिष्ठान मातहतकाे कछुवा संरक्षण केन्द्रले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए ।




















