बिर्तामाेड । झापाकाे कनकाईका धकलबहादुर थिङलाई माेरङमा नक्कली सुनकाे टिल देखाएर ठगि गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ । कनकाई नगरपालिका–९ घैलाडुब्बाका ६१ वर्षीय थिङलाई मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे हाे । 

थिङ र उनका अर्का एक व्यक्तिले बेलबारीकी ७८ वर्षीया सावित्रादेवी घिमिरेको सुनको सिक्री लुटेको मोरङ प्रहरीले जनाएको छ ।सार्वजनिक बसबाट बैशाख २ गते घर फर्किरहेकी वृद्धालाई दुई अपरिचित व्यक्तिले सुन पसल सोध्ने बहानामा एकान्त स्थानतर्फ लगेका थिए । त्यसपछि ‘यूकेबाट ल्याएको सुन’ भन्दै सुनजस्तै देखिने पहेँलो धातुको टिल देखाएर प्रलोभनमा पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वृद्धाले लगाएको १ तोला ६ आनाको सुनको सिक्री खोस्न खोज्दा नमानेपछि उनीहरूलाई डर–त्रास देखाएर जबरजस्ती लुटपाट गरिएको थियो । लुटपाटपछि नक्कली धातुको टिल हातमा थमाएर दुवै जना फरार भएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय बेलबारी ले सीसीटीभी फुटेज र हुलियाको आधारमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा थिङको संलग्नता खुलेपछि उनलाई झापास्थित घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले थिङको साथबाट सुनको सिक्री, नगद र मोबाइल बरामद गरेको छ । प्रारम्भिक बयानमा उनले यसअघि पनि वृद्ध महिलालाई नक्कली सुन देखाएर गरगहना लुट्ने काममा संलग्न रहेको स्वीकार गरेका छन् ।