बिर्तामोड । झण्डै दुई हप्तादेखि रोकिएको बिर्तामोडको फोहोर संकलन कार्य सुरु भएको छ । बिर्तामोड बजार क्षेत्रमा फोहोर संकलन नहुँदा समस्या सुरु भएको थियो ।
बिर्तामोडमा फोहोर संकलनको जिम्मेवारी पाएको निराकार सरसफाइ प्रालिका अनुसार डम्पिङ साइट व्यवस्थापनको विवादले फोहोर संकलन हुन सकेको थिएन । संकलन गरिएको फोहोर पनि ट्याक्टरमै थन्किएको थियो ।
बिर्तामोड नगरपालिकाले डम्पिङ साइटको विवाद सुल्झाएपछि ११ दिनसम्म सडक र घरमै थुप्रिएको फोहोर आजबाट उठ्न थालेको निराकार सरसफाइले जनाएको छ । सडकको फोहोर धमाधम उठिरहेको छ भने घरमा रहेको फोहोर भोलि सोमबारदेखि संकलन हुने जनाइएको छ ।
निराकारले बिर्तामोड–६ बुट्टाबारीपूर्वमा नगरभित्रको फोहोर व्यवस्थापन गर्दै आएको छ । अहिले देउनिया खोलाको छेउमा वन क्षेत्रमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।
बिर्तामोड–६ स्थित मसले टोल क्षेत्रमा फोहोर व्यवस्थापन भइरहेकोमा स्थानीयबासीले विकल्प खोजी गर्न भन्दै फोहोर बोकेको गाडी रोकेपछि निराकारले फोहोर उठाउन सकेको थिएन ।
यसैबीच, जनप्रतिनिधिबीचको तालमेल नमिल्दा निराकारको फोहोर संकलन गर्ने इजाजत नवीकरण पनि हुन सकेको छैन । केही जनप्रतिनिधिले निराकारले फोहोर व्यवस्थापन राम्रोसँग गरिरहेकाले उसैलाई निरन्तरता दिनेपर्ने अडान राखेका छन् ।




















