झापा। काँकरभिट्टा स्थित पुरानो मेची पुल क्षेत्रमा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो इकाई काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी रिक्सा मार्फत आउँदै गरेका दुई जनालाई शंकाको आधारमा चेकजाँच गरेको थियो।
जाँचका क्रममा जिल्ला काठमाडौं महानगरपालिका–२५ असनचोक बस्ने ४० वर्षीय अजय चित्रकारको साथबाट प्लास्टिकसहित १५ ग्राम १०० मिलिग्राम तथा प्लास्टिक बाहेक १२ ग्राम ४२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
घटनामा काठमाडौं महानगरपालिका–२३ ओमबहाल टोल बस्ने ३७ वर्षीय शुशिल मानन्धरलाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।




















