अर्जुनधारा । पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले अर्जुनधारा नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखा को आयोजनामा भेटेरिनरी डाक्टर तथा प्राविधिकहरूका लागि प्रारम्भिक सर्जरी सम्बन्धी दुई दिने तालिम सुरु गरेको छ।
उद्घाटन कार्यक्रममा आर्थिक विकास संयोजक गौरिमाया चिमरिया ले स्वागत मन्तव्य राख्दै प्राविधिकहरूलाई अझ दक्ष बनाउन तालिम आयोजना गरिएको बताइन्। उनले मानव जीवनसँग प्रत्यक्ष जोडिएको पशु स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरिन्।
प्रशिक्षक डा राघवेन्द्र तिवारी ले अर्जुनधारामा निर्माण भइरहेको संरचना नेपालकै पहिलो नमुना भेटेरिनरी अस्पतालका रूपमा विकास हुँदै गएको बताए। उनले यो तालिम आधारभूत भए पनि भविष्यमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण हुने धारणा राखे।
पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख पदम राईका अनुसार तालिममा ३० जना प्रशिक्षार्थी सहभागी छन्। साथै १ करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण भएको नयाँ भवनमा ल्याब, एक्सरे, सर्जरीसहितको सुविधा सम्पन्न पशु अस्पताल सञ्चालन हुने जानकारी दिए।
नगर प्रमुख बलदेव सिंह गोम्देन ले पशुलाई पनि मानिससरह उपचार सेवा दिने उद्देश्यले अस्पताल निर्माणको परिकल्पना गर्ने प्रल्हाद सापकोटा लाई धन्यवाद व्यक्त गरे। उनले किसानहरू यसबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्दै सिकेको सीपलाई प्रशिक्षार्थीले व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।
उनले “भवन पाँचतारे होटलजस्तै बनेको छ, अब सेवा पनि सोही स्तरको हुनुपर्छ, नत्र भौतिक संरचनाको अर्थ हुँदैन,” भन्दै जिल्लाभरिका पशु उपचार सेवाको भरपर्दो गन्तव्यका रूपमा अस्पताल विकास हुने अपेक्षा व्यक्त गरे।




















